Canmandu
अस्ट्रेलियामा प्रदिप गिरिको सम्झना

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अस्ट्रेलियाले सिड्नीमा नेपाली कांग्रेसका समाजवादी नेता प्रदिप गिरिको सम्झना गरेको छ।

निधन भएको १३ औं दिनको पुण्य तिथिमा  श्रद्धाञ्जली सभा आयोजना गर्दै समितिले लोकतान्त्रिक समाजवादको सच्चा नेताका रूपमा गिरिलाई सधैँ सम्झना गर्नुपर्ने बताएको छ।

सिड्नीको ग्रानभिलस्थित पलेभर अफ नेपालमा आयोजित कार्यक्रममा स्वर्गीय नेता गिरिको तस्बिरमा माल्यापर्ण गर्दै सहभागिले विपीको सच्चा अनुयायीका रूपमा रहेका प्रदीप गिरि नेपाली कांग्रेसको सच्चा सिपाहीका रुपमा रहेको चित्रण गरे।

कार्यक्रममा बोल्दै नेप्लीज अस्ट्रेलियन डेमाक्र्याटिक फोरमका पूर्व अध्यक्ष डिल्ली ढकालले प्रतिनिधिसभा सदस्य, नेता तथा स्वावलम्बन अभियन्ता गिरि भौतिक रूपमा नभए पनि उनको समाज उन्नत बनाउने समाजवादी चिन्तन र दृढ अठोटले हामी सबैलाई सधै घच्घच्याइरहने बताए।

श्रद्धाञ्जली कार्यक्रममा बोल्दै चितवन समाज अस्ट्रेलियाका अध्यक्ष पूर्णनाथ घिमिरेले विपी कोइरालाले सच्चा अनुयायीका रूपमा चिनिने गिरी विकासको आफ्नै मोडल चाहिन्छ भन्ने दुरगामी नेता रहेको बताए।

घिमिरेले कांग्रेस सत्तामा आए पनि विपीको विचारलाई अगाडि बढाउन नसकेको बताउने गिरि नेपालमा परम्परागत समाजवाद होइन मानवतावादी समाजवाद ल्याउनुपर्ने विचारका पथ प्रर्दशक समेत रहेको सुनाए।

कार्यक्रममा बोल्दै एकाका पूर्व अध्यक्ष निरज श्रेष्ठले कांग्रेसले मात्र नभइ दक्षिण एसियाकै लोकप्रिय नेता गिरीलाई जति सम्झिए पनि नपुग्ने बताए।

कार्यक्रममा जनसम्पर्क समिति अस्ट्रेलियाका पूर्व अध्यक्ष कृष्ण गिरिले प्रदिप गिरि नेपाली कांग्रेसका एक्लो वृहस्पति भएको बताए।

‘जिउँदोमा जसका कोही थिएनन्, मरेपछि थाहा भयो, प्रदिप गिरिका सबै रहेछन्। उनका अनुयायी मात्र नभएका रहेछन्, वाहवाही गर्नेको कुनै कमी रहेनछ’, गिरीले भने।

श्रद्धाञ्जली सभामा बोल्दै क्यानबेराबाट सहभागी जनसम्पर्कका युवा नेता ललित मल्लले प्रदिप गिरि नेपाली कांग्रेसका एक्लो वृहस्पतिका रुपमा सधै सत्य र तथ्य बोल्ने नेताका रुपमा आफूले सम्झने बताए।

जनसम्पर्कका अध्यक्ष सुरेश गुरूङले विदेशमा बस्ने हरेक प्रजातन्त्रप्रेमी नेपालीका लागि प्रदिप गिरि रोल मोडलका रूपमा रहेको र उनको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताए।

कार्यक्रममा नवाजका अध्यक्ष चिरन तिवारी, क्यानबेराका युवा अभियन्ता कर्मा लामा, जनसम्पर्कका महामन्त्री रोहित खड्का, उपाध्यक्ष राजेश केसी लगायतले स्वर्गीय प्रदिप गिरिप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उनको समाजवादी चिन्तनको खुलेर प्रशंसा गरेका थिए।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update