Canmandu
नाबालिगदेखि सावधान !

जब मानिसले सानै उमेरमा ख्याति प्राप्त गर्छन्, धन-सम्पती आर्जन गर्छन् वा भनौं ‘सेलिब्रेटी’ बन्छन्, उनीहरूले त्यसलाई सम्बर्द्धन गर्न सक्दैनन् र एकैपटक जमिनमा बजारिन्छ्न्।

हुन त गुरूत्वाकर्षणको नियम भनौं वा प्रकृतिको नियम, अपवादबाहेक माथि पुगेपछि एक न एक दिन झर्नैपर्छ, तर कसरी बिस्तारै झर्ने वा सकेसम्म चुचुरोमै अडिने भन्ने कुरा व्यक्ति स्वयम्‌मा भरपर्छ।

सगरमाथाको टुप्पोमा पुगेपछि कति समय अडिन सकिन्छ र? तल त अवस्य झर्नेपर्छ तर तल आइपुगे पछि पनि ‘सगरमाथा आरोही’ को नामले चिनिनु आफैंमा गर्वको विषय हुन्छ।

यदि एकैपटक ह्वात्तै तल खस्यो भने कि मृत्यु हुन्छ, कि अङ्गभङ्ग भएर अपाङग हुनसक्छ।

त्यसैले माथि कसरी अडिने वा कसरी बिस्तारै तल झर्ने भन्ने कुरा ‘सेलेब्रिटी’ भएपछि बुझ्न नसक्ने निम्न कारण हुन सक्छन्।

  • - अहम् भावनाले ग्रसित हुने
  • - आफ्नो ‘करिअर’ बचाउन वा बढाउन अत्यधिक दबाब महशूश गर्ने
  • - सधैंभरि ‘पब्लिक’ को नजरमा रहने र आफ्नो गोपनियता नहुने। र,
  • - कसैले दिएको इज्जतलाई आफ्नो प्रभाव ठान्ने, आदि।

विभिन्न कारणले गर्दा ‘सेलेब्रिटी’हरू मानसिक रोगको शिकार बनेका हुन्छन्। जसले गर्दा अल्कोहल, ड्रग्स, सेक्स आदि लतमा फस्दै जान्छन् र कतिले आफ्नो जीवन लिन्छन्।

जस्तो, माइकल ज्याक्सन, व्हिट्नि हिउस्टन, दिव्या भारती, श्रीषा कार्की, माइकल हुचंज, शुशान्त सिंह राजपूत आदि।

अब कुरा गरौ, नेपाली ‘सेलिब्रिटी’ जसलाई बलात्कारको अभियोग लागेको छ र तथ्यहरू के हुन सक्छ।

प्राय: देशमा १६ वर्ष (कहिँ कहिँ १८ वर्ष) मुनिका नाबालिगसँग ‘मन्जुरी’ लिएर शारीरिक सम्पर्क गरे पनि बलात्कार मानिन्छ। किनकि, उनीहरूले मन्जुरी दिनसक्ने हैसियत राख्दैनन्।

त्यसको मतलब चाहे केटा होस् वा केटी नाबालिग, नाबालोगसँग घुम्न जाओस्, मन्जुरी दिओस्, नाबलिगलेनै बालिगलाई शारीरिक सम्पर्कको लागि उक्साओस्, त्यो बलात्कार हुन्छ।

 हुन सक्छ, केटा वा केटी अर्काको शरीरको बनावट, विकास, साइज देखेर झुक्किन सक्छन्। या उमेर ढाटेर भन्न सक्छन्। चाहे जे होस्, त्यसलाई कानूनी रुपमा बलात्कार भनिन्छ र सजायभागी हुन्छ।

दुवै जना बालिग छन्। तर मन्जुरी लिँदा, डर त्रास देखाएर लिएको छ, प्रलोभनमा पारेर लिएको छ, नशालु पदार्थ वा अल्कोहलको असर परेको बेला लिएको छ भने यस्तो अवस्थामा गरे/भएको शारीरिक सम्पर्क पनि बलात्कार हुन्छ।  

अब कुरा आयो, यदि दुवै जना नाबालिग छन् र सहमतिमा सम्पर्क गरेका छन् भने दुबैलाई अभियोग लाग्न सक्छ। तर प्रायः त्यस्तो केसमा उनीहरूको उमेर २/३ वर्षभन्दा कमको फरक छ र उनीहरु १४ -१७ वर्ष उमेर समूहका छन् भने अपराधको रूपमा चार्ज गर्दैनन्। यसलाई ‘रोमिओ-जुलिएट’ कानून भनेर पनि चिनिन्छ। जुन २००७ मा फ्लोरिडा राज्य, युएसएमा पहिलोपल्ट पारित भएको थियो र अहिले विभिन्न राज्य र देशमा केही परिवर्तन गर्दै अपनाइएको छ। 

निष्कर्षमा भन्नुपर्दा, क्षणिक आनन्दको लागि आवेश र उत्तेजनामा निर्णय गर्नुपूर्व एक पटक राम्रोसँग परिणाम के हुनसक्छ, सोच्नुहोस्, विचार गर्नुहोस्, आफ्नो ‘सेलिब्रिटी’ इस्टाटसको प्रभावले गर्दा गरे भएको समर्पणलाई मन्जुरी हो भन्ने कदापि नठान्नुहोस्।

कानून कानून नै हो, समय सापेक्ष भोलिका दिनमा परिमार्जित हुँदै जाला। तर आज तपाईँ ‘पीडित’ नै भए पनि कानून अनुसार तपाईँ ‘पीडक’ हो।

मन्त्र जप्नुहोस्। ‘नाबालिग देखि - सावधान!’

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update