Canmandu
२५ लाख खर्च गरे कलाकार भिसामा अस्ट्रेलिया !

विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेला महोत्सव र साक्षात्कारको नाममा नक्कली पात्र बनाएर अस्ट्रेलियामा मानव तस्करी बढ्दै आएको छ।

शैक्षिक र आवश्यक मापदण्ड नपुगेर अस्ट्रेलिया आउन नपाएका व्यक्तिलाई करोडौं कमाइको प्रलोभन दिएर कलाकार भिसामा अस्ट्रेलिया छिराउने गिरोह सक्रिय छ।

यस्तो गिरोहले एक व्यक्तिबाट २० देखि ३० लाखसम्म लिँदै आएका छन्।

पछिल्लो पटक कोरोना महामारिपछि अस्ट्रेलियामा करिब तीन सय कलाकार विभिन्न आयोजकको नाममा सांस्कृतिक कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया आएका छन्।

गएको जनवरीदेखि सेप्टेम्बरको पहिलो सातासम्म सब क्लास ४०८ अन्तर्गत यती ठूलो संख्यामा कलाकार भित्रनु अस्ट्रेलियन नेपाली समाजको लागि गौरवको विषय हो। तर कलाकार भित्रिएसँग जुन उद्धेश्यका लागि उनीहरू आएका हुन् उक्त कार्यक्रम नहुनु आश्चर्यको विषय बनेको छ।

अहिले पनि अस्ट्रेलियामा करिब दुई दर्जन कलाकार विभिन्न शहरमा आयोजित कार्यक्रममा सहभागी भइरहेका छन्।

वास्तविक कलाकारसँगै नक्कली व्यवस्थापक, मेकअप आर्टिस्ट तथा डान्सर अष्ट्रेलिया भित्रिरहेका छन्। यसरी उनीहरूलाई अष्ट्रेलिया भित्र्याउन एउटा गिरोह सक्रिय रहेको र त्यसमा केही शैक्षिक परामर्श केन्द्रको समेत संलग्नता रहेको एक इभेन्टकर्ताले बताए।

यसै साता मात्र ‘तीज म्युजिकल नाइट’ कार्यक्रको नाममा केही नक्कली कलाकारहरू अष्ट्रेलिया भित्रिएको ती इभेन्टकर्ताले जानकारी दिए।

‘सिड्नीमा सेप्टेम्बर १० तारिक तीज म्युजिकल नाइट कार्यक्रम गर्ने भनेर केही कलाकार आए। तर कार्यक्रम कहाँ हुने भन्ने टुंगो थिएन। कार्यक्रमका मुख्य कलाकार भिसा लागेर पनि नेपालमै बसे तर ठूलो पैसा खर्च गरेर नक्कली कलाकार बनेकाहरू अष्ट्रेलिया भित्रिए’, ती इभेन्ट म्यानेजरले भने, ‘कार्यक्रम आयोजना गर्नुनै थिएन। यो एउटा बहाना मात्र थियो, अस्ट्रेलिया मानिस भित्र्याउने।’

यसबारे कार्यक्रमकी मुख्य कलाकार सृजना खत्रीले आफ्नो भिसा लागे पनि आयोजकले कार्यक्रम ढिला भएकोले दशै तिहार पछि गरौंला भनेकाले आफू नआएको बताइन्। उनले आफूलाई अन्य कलाकारको बारेमा केही थाहा नभएको जानकारी दिइन्।

यसरी ल्याइएका ब्यक्तिलाई अस्ट्रेलिया ल्याएपछि विद्यार्थी भिसामा हालिदिने र केहीलाई काम समेत लगाइदिने प्रलोभन दिएको गिरोहले लाखौ असुलेका हुँदोरहेछन्।

यस्तै कार्यक्रममार्फत अष्ट्रेलिया आएका एक व्यक्तिले आफू काठमाडौंको एक कन्सलटेन्सीमा २३ लाख नगद र दुई लाखको टिकट गरी २५ लाख खर्च गरेर आएको बताए।

उनले खर्च गरेर आएपछि ४-५ वर्ष मेहनत गरेर राम्रै पैसा कमाउने बताएपछि आफू आएको बताए।

आयोजकले कसैसँग कुरा नगर्न भनेपछि सुरूमा सेतोपाटीको सम्पर्कमा रहेका ती व्यक्ती त्यसपछि सम्पर्कविहिन छन्।

अस्ट्रेलियामा भएका पछिल्ला कार्यक्रममा यस्ता थुप्रै खाले घटना बढ्दो छ।

गएको जनवरीदेखि जुलाइसम्म अस्ट्रेलियामा इन्टरटेन्टमेन्ट भिसा सवक्लास ४०८ मा दुई सय २८ जना कलाकार अस्ट्रेलिया प्रवेश गरेको तथ्यांकले देखाएको छ।

तथ्यांकले जनवरी भने पनि नेपाली समाजका कार्यक्रम भने मार्चदेखि मात्र सञ्चालनमा आएका छन्। यो पछिल्लो चार महिनाको नालीबेली हो।

पछिल्लो ६ महिनामा त्यसबाहेक खेलकुदका नाममा पाँच कराँते  खेलाडी अस्ट्रेलियाको मेलवर्न शहरमा प्रतिस्पर्धा गर्न आएको देखिन्छन्।

तर कार्यक्रम गर्न आएका एक चौथाइ असली कलाकारबाहेक धेरै नक्कली कलाकार भने यतै अस्ट्रेलियामै भिसा परिवर्तन र अन्य कार्यमा सामेल भएर बसेका छन्।

कराते खेलाडीका हकमा पनि दुई जना स्वदेश फर्के पनि बाँकी तीन जना यतै अस्ट्रेलियामा बसेका छन्।

पछिल्ला दिनहरुमा यसरी कीर्ते कागजपत्र र कीर्ते कामले नेपालीप्रति अस्ट्रेलियन सरकारको हेराइमा समेत फरक धारणा बनिसकेको छ। पछिल्ला दिनमा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको उच्च शिक्षामा भिसा पाउन समेत निकै गाह्रो भइरहेको शैक्षिक परामर्शदाताहरु बताउँछन्।

भेट क्षेत्रको भिसा लगभग शुन्यको अवस्थामा रहेको छ भने विश्वविद्यालयमा अली अलि भिसा लागेको छ।

पछिल्लो अवस्थामा नेपाली विद्यार्थीले अस्ट्रेलियन उच्च शिक्षाको लागि दिने आवेदनमा प्रयोग हुने कागजातसमेत कीर्ते हुने गरेपछि भारतबाट एउटा प्रतिनिधि मण्डल नेपाल आएर त्यसमा छानबिन गरी प्रतिवेदन समेत बुझाएको थियो।

यस्तो कार्यले भोलिका दिनमा वास्तविक कलाकारको प्रवेशाज्ञामा समेत कठिनाइ हुने अस्ट्रेलियाका चिनिएको इभेन्ट कम्पनी नेपाली टचका संयोजक राज कुमार गोश्वामीले बताए।

‘यस्तो विकृति र विसंगतीले अस्ट्रेलियामा नेपालीको पहिचान माथिनै प्रश्न चिन्ह उठ्नसक्छ, यसैले यसलाई रोक्नुपर्छ’, अस्ट्रेलियामा नेपथ्य र नेपाल आइडलजस्ता महत्वपूर्ण इभेन्ट आयोजना गरिसकेको नेपाली टचका संयोजक गोश्वामीले भने, ‘यसका लागि सिंगो नेपाली समाजले वाचडगका रूपमा काम गर्नुपर्दछ नत्र भोलिका दिनमा देशको प्रतिष्ठामा समेत आँच आउनसक्छ।’

सिड्नीका नेपाली युवा गायक नरेश रेग्मीले यो प्रवित्र गीत र संगीतको नाममा बेइमानीको धन्दा भइरहेकोमा आपत्ती जनाए। सांगीतिक कार्यक्रमको नाममा आर्थिक लेनदेनसहित मानिस भित्र्याउने खेल सरासर बेइमानी हो, उनले भने, ‘यसले नेपाली कलाकार र सांगीतिक क्षेत्रकै बदनाम हुने काम भएको छ।’

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update