Canmandu
पहिलो पटक अष्ट्रेलियाका दुई दर्जन बढी हलमा प्रेम गीत-३

पहिलोपटक अष्ट्रेलियाका दुई दर्जनभन्दा बढी हलमा नेपाली सिनेमा एक साथ प्रदर्शन हुने भएको छ।

यसअघि हल भाडामा लिएर नेपाली सिनेमा हेर्न पाइने अष्ट्रेलियामा यसपालि प्रदर्शन हुने प्रेमगीत-३ अंग्रेजी र हिन्दी सिनेमा जसरी हलको शो समयमै हेर्न पाइने भएको छ।

यसका लागि लामो समयदेखि प्रयासरत सिड्नी निवासी देव कार्कीले प्रेमगीत-३ मा आएर यो सफलता पाएको बताए।

अष्ट्रेलियामा नेपाली चलचित्रको प्रदर्शन र नेपाली सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएका कार्कीका अनुसार नेपाली र हिन्दी गरेर चलचित्र प्रेम गीत-३ ले पुरा अष्ट्रेलियामा दुई दर्जन भन्दा बढी हलहरू पाएको छ। 

यो साता प्रेम गीत ३ का लागि हलको संख्या बढ्ने उनले बताए।  नेपाली सिनेमाको उपस्थिति र वजन अब प्रवासमा रहने हामीहरूलेनै उठाउनुपर्ने उनी बताउँछन्।

‘विदेशका लोभलाग्दा हलहरूमा विदेशी कलाकारको फोटो र पोष्टर हरेर कति दंग पर्ने? अब हाम्रै कलाकारहरूको पोष्टर र फोटोले बिदेशी हलहरू रंगीने दिन आएको छ,’ उनले सेतोपाटीसँग भने, ‘यो कार्यलाई नियमित रूपमा अगाडि बढाउन प्रवासमा रहनु हुने यो विधामा आवद्ध सबैले एक जुट हुनुपर्छ। हामी सफल हुन्छौं।’

आगामी शुक्रबार अर्थात सेप्टेम्बर २३ तारिखमा विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीत -३ त्यसै दिनदेखि अष्ट्रेलियाको इभेन्ट सिनेमा, लाइम लाइट र भिलेज सिनेमामा हिन्दी र नेपाली गरेर दुई भाषामा नियमित प्रदर्शनमा आउने भएको छ

प्रेम गीत -३ को ट्रेलर भने अष्ट्रेलियाका हलहरूमा बज्न थालिसकेको छ। नेपाली सिनेमाको राम्रो दर्शक र बजार भएको अष्ट्रेलियामा प्रेमगीत -३ ले इतिहास बनाउन लागेको छ।

यतिबेला अष्ट्रेलियामा रहेका प्रवासी नेपालीको दह्रो साथ पाएकोमा प्रदर्शक देव कार्की दंग छन्। ‘लामो प्रयास र सोचले मूर्तरूप पाएको छ। भोलि आर्थिक रूपमा के होला? भन्न सकिन्नँ तर, अष्ट्रेलियामा शानका साथ हलिउड र बलिउडका चलचित्रहरूसँगै नेपाली चलचित्रको यो उपस्थिति हामी सबैको लागि गौरवको कुरा हो।’

उनले अष्ट्रेलियामा रहने नेपालीलाई सिनेमा हेर्न हलमा आउन आग्रह गर्दै आगामी दिनहरूमा पनि यसैगरी अन्य नेपाली चलचित्रहरूका लागि बाटो खोल्ने वातावरण मिलाइदिन आग्रह गरे।

 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update