Canmandu
पर्थमा नेपाल चिनाउने मेला

गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले विभिन्न राज्यमा नेपाल महोत्सवको  आयोजना गरिरहेको छ। 

मेलबर्न, डार्बिन ,तास्मानिया र ब्रीजबेनमा नेपाल  महोत्सव सम्पन्न गरेको एनआरएनले पर्थमा महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न  तयारी तीब्र पारेको छ ।

अष्ट्रेलियामा नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृतिका बारेमा जानकारी गराउन र नेपालको पर्यटन क्षेत्रमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आगामी नोभेम्बर २६ मा पर्थमा नेपाल महोत्सव आयोजना हुँदैछ। 

पर्थमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एव वेस्टर्न अष्ट्रेलियाका संयोजक दिपक बस्नेतले जानकारी दिए। कार्यक्रममा सहभागी हुन पर्थ राज्य सरकारका मन्त्रीदेखि संसद्, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, एनआरएन अष्ट्रेलियाका पदाधिकारी र स्थानीय संघ संस्थाका प्रमुख पर्थ पुग्नेछन्। 

२६ नोभेम्बर बिहान मुर्रे स्ट्रिट महलबाट सुरू हुने कलश यात्रा विलियम स्ट्रीट हुँदै हे स्ट्रीटबाट घुमेर ब्यारेक स्ट्रीट महल हुँदै पुनः मुर्रे स्ट्रिट फर्केर समापन हुनेछ। कलश यात्रा स्कटिङका लागि पर्थ स्टेटको प्रहरीसँग सहयोग मागेको छ’, संयोजक बस्नेतले भने। 

कलश यात्रा बौद्धनाथ र पशुपतिनाथ समितिले आयोजना गर्ने उनले जानकारी दिए। नेपाल महोत्सव पर्थको औपचारिक कार्यक्रम १२ बजेबाट फरेस्ट चेसमा सुरू हुने संयोजक बस्नेतले बताए।

नेपालीको कला संस्कृतिको प्रवर्द्धन गर्ने मूल उदेश्य रहेको उक्त कार्यक्रममा नेपालका विभिन्न ठाउँको फोटो भिडियो प्रदर्शनीसमेत गरिने संयोजक बस्नेतले बताए। पर्थमा हुने महोत्सवमा सहभागी हुन पर्थ वरपरका अल्बानी, मन्डिरा बनबेरी र अन्य धेरै क्षेत्रीय शहरहरूमा बसोवास गर्ने नेपाली पनि सहभागी हुने उनले बताए। 

 

 

महोत्यवमा यस पटक  १० हजार भन्दा बढी नेपाली र विदेसीको सहभागिता रहने अनुमान गरिएको संयोजक बस्नेतको भनाइ छ।

नेपाल कला संस्कृतिको धनी देश भएकाले यस कार्यक्रममा विभिन्न जात जाति भाषभाषीका झाँक्री पनि प्रस्तुत गरिनेछ। नेपाल महोत्सव पर्थमा आउँदा एक जना विदेशी साथी लिएर आउन उनले पर्थवासी नेपाली समुदायलाई आग्रहसमेत गरेका छन्।

नेपाल फेस्टिभललाई सभ्य र भव्य बनाउन पर्थमा रहेका स्थानीय संघ–संस्था, स्पोर्टस् क्लब र व्यवसायीक संस्था आ–आफ्नो तर्फबाट मेहनत गरिरहेका पर्थका सामाजिक अभियन्ता सुवास श्रेष्ठले बताए। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपाली पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली कला संस्कृति, भाषा जगेर्ना गर्ने तवरले विभिन्न राज्यमा नेपाल महोत्सवको  आयोजना गर्दै आएको पर्थका युवा ब्यवसायी निल थपलियाले बताए।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update