Canmandu
लेबरबाट अष्ट्रेलियाको राज्य सांसदमा नेपाली मूलका कार्कीको उम्मेदवारी

नेपाली मूलका अष्ट्रेलियन एलेक्स कार्कीले अष्ट्रेलियाको लेबर पार्टीबाट राज्य सांसदको टिकट पाएका छन्।

सिड्नीस्थित बेलाभिष्टामा सपरिवार बस्दै आएका कार्की पेशाले इन्जिनियर हुन्। केही वर्षदेखि अस्ट्रेलियाको सत्तारूढ दल लेबरको स्थानीय राजनीतिमा सक्रिय एलेक्सले सिड्नी विश्वविद्यालयबाट ब्याचलर अफ इन्जिनियरिङ र मास्टर अफ रिर्सच (ट्रान्सपोर्ट प्लानिङ) को उच्च अध्ययन पुरा गरेका छन्।

एलेक्स सिड्नी ट्रेनका कुशल युवा इन्जिनियर हुन । पढाइ र जागिरसँगै अस्ट्रेलियाको स्थानीय राजनीतिमा होमिएका एलेक्स स्थानीय यातायात, स्कुल र स्वास्थ्यका विषयमा बढि जागरूक छन्।

उनी यस पटक अस्ट्रेलियाको चुनावमा राज्य सांसद पदका उमेदबार बनेका छन्। जुन नेपाली समाजको लागि पनि गौरवको विषय हो।

सिड्नीको केलिभिल, बेलाभिष्टा, नरवेष्ट, बकमहिल्स, राउजहिलका स्थानीय जनसरोकारका मुद्दामा एलेक्स निकै जागरूक पनि छन्।

उनको राजनीतिक यात्रामा पेशासँगै सामाजिक जिम्मेवारी पनि महत्वपूर्ण छ।

एलेक्सका राजनीतिक मुद्दामा उपयुक्त योजना र त्यसको संस्थागत विकास, सडक योजना, शैक्षिक वातावरणलाई सहजीकरण, हिल्स समाजलाई अत्यन्तै आवश्यक हस्पिटल र समुदायलाई आवश्यक सेवा र सुविधा महत्वपूर्ण छन्।

एउटा नेपालीको छोरो अस्ट्रेलिया आएर यहाँको राजनीतिक मैदानमा उत्रनुनै ठूलो कुरा भएको एलेक्स बताउँछन्। ‘यहाँ पेशासँगै राजनीति गर्न कानुनले पनि छेकवार छैन, त्यसैले पनि यस पटक मैले हिल्सका जनताको चाहना बोकेर उमेदबार बन्ने चाहना राखेको हुँ’, एलेक्सले  भने।

एलेक्सलाई सत्तारूढ दल लेबरले पनि आफ्नो आधिकारीक उमेदवारका रुपमा चयन गरेको छ।

अस्ट्रेलियाको सत्तारूढ दलले यसरी एक नेपाली युवालाई संघीय सांसदको उमेदबार छान्नुलाई पनि निकै महत्वका साथ हेरिएको छ।

अस्ट्रेलियामा बढ्दो नेपाली समाज र यसको प्रभावको महत्वपूर्ण पाटोको रूपमा यसलाई लिन सकिन्छ।

अस्ट्रेलियाको राजनीतिमा नेपाली समुदायवाट काउन्सिलर पदसम्म पुगेका नेपालीका लागि यो ठूलो अवसर हो। अस्ट्रेलियाको एनएसडब्लु राज्यको संघीय निर्वाचन आगामी मार्च २५ तारिख हुने कार्यक्रम रहेको छ।

एलेक्सले यस पटकको निर्वाचनमा आफ्ना क्षेत्रका तथा समग्र अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग सहयोगको अपिल गरेका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update