Canmandu
मुलुक बाहिर राधाको पहिलो शो सिड्नीमा

नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ आगामी शनिबार अस्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ। 

शनिबार सिड्नीको ब्याक्सटाउनस्थित होयट्‍स सिनेमामा मुलुक बाहिर राधाको पहिलो शो आयोजना हुन लागेको हो। 

सिड्नीबाहेक अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन हुने सिनेमा पुनः नेपालमा लाग्ने निर्देशक सुवर्ण थापाले जानकारी दिए। 

केही अलग र फरक कथा बस्तुमा आधारित राधा चलचित्र महिला शसक्तिकरणको एउटा ज्वलन्त उदाहरणका रुपमा रहेको देखिन्छ। 

फ्रान्स तथा नेपालको बसाइ र चलचित्रको निर्देशन अनि फरक सोचाइ बनाएका निर्देशक सुवर्ण थापाले चलचित्र साच्चिक्कै हेर्न लायक बनाएका छन्। तर यो संवेदनशील विषयमा नियालेर हेर्नुपर्ने फिल्म तडक भडक र अहिलेको हुरीबतास सेन्टीमेन्टमा भिज्न निकै गाह्रो हुने देखिन्छ। 

एउटी साधारण गाउँले महिलाको निष्ठा र प्रेमलाई निर्देशक थापाले जसरी उत्कृष्ट रूपमा प्रस्तुत गरेका छन् त्यसमा नायिका श्रृष्टि श्रेष्ठले उत्तीकै सहज र अब्बल रूपमा आफूलाई प्रस्तुत गरेर फिल्मलाई न्याय दिएकी छन्।

सुरूबाटैदेखिनै क्रमशः दर्शकलाई बाँधेर राखेको फिल्मले गुमराहमा राख्दै आँशुको भेलमा आरोह र अबरोहमा अगाडि बढेको चलचित्र अन्तिम केहि मिनेट मात्र संयोगान्त पाटोमा समापन हुन्छ। 

निर्देशक थापाले नेपाली सामाजिक परिवेशलाई गहिराइबाटै खोजेर एउटा विवश नारीको पतिनिष्ठा र प्रेमलाई राधामा उजिल्याउन खोजेका छन्। 

अहिलेका आलाकाचाको डाङडुङे प्रवृत्ती र कमाउ नीतिभन्दा केही फरक र अलग सोचका साथ राधाको निर्माण र निर्देशन गरेको चलचित्रले देखाउँछ। 

गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले आफ्ना बेपत्ता भएका श्रीमानको खोजी गर्ने क्रममा आउने उतार–चढावलाई चित्रण गरिएको छ। ‘द सिक्रेट्स अफ राधा’ नेपाली परिवेशमा गर्भवती महिलाले श्रीमानको पर्खाइमा बस्दा गर्नुपरेको संघर्षको कथा हो। 

राधा नेपाली परिवेशको गर्भवती महिलाको संघर्ष हो । जसको श्रीमान वर्षौसम्म घरमा आउँदैनन्। राधा घरमा आफ्नी सासुको स्याहार गरेर बसेकी हुन्छिन्।  राधाले श्रीमानको पर्खाईमा संघर्ष गर्नुपर्ने हुन्छ। श्रीमान नहुँदा गर्नुपरेको हन्डर र ठक्करलाई कलात्मक रूपमा चित्रण गरिएको छ।

फिल्मलाई सुर्वण थापाले निर्देशन गरेका हुन्।

निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय छ। यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्।

बिक्रम डि जोशीको निर्माण रहेको फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update