Canmandu
अष्ट्रेलियामा कतै नक्कली लाइसेन्स त प्रयोग गर्नु भएको छैन? कारबाहीसँगै नेपाल फर्कनुपर्ला

नेपालको नक्कली लाइसेन्स प्रयोग गरी अष्ट्रेलियाको लाइसेन्स त लिनुभएको छैन? यदि त्यसो हो भने जो कोही पनि जुनसुकै बेला अष्ट्रेलियन प्रहरीको फन्दामा पर्न सक्नेछन्।

अस्ट्रेलियामा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) ले निर्वाध रूपमा गाडी चलाउन पाइन्छ। तर पछिल्लो समय सुविधालाई गलत दुरूपयोग गर्ने प्रवृती बढ्दै गएको छ। 

विदेशमा नेपाली लाइसेन्सले गाडी चलाउन पाउने सुविधाको दुरूपयोग गर्दै नेपाली विद्यार्थीबीच नक्कली लाइसेन्सको प्रयोग पनि बढ्दो छ। 

सिड्नीमा एक नेपाली विद्यार्थीले नक्कली लाइसेन्स बोकेर सवारी चलाएको भन्दै कारबाही भोग्नु परेको छ।

स्थायीत्वका लागि सिड्नीबाहिर जान लागेका ती नेपाली विद्यार्थीले करिब ३० हजार अष्ट्रेलियन डलर जरिवाना बुझाउनुका साथै अदालती प्रक्रिया व्यहोरिरहेका छन्। 

यस्तै नक्कली विदेशी लाईसेन्सका आधारमा गाडी चलाईरहेको अवस्थामा प्रहरीले मलेसियाका तीन जनालाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार १७ सेप्टेम्बर २०२२ दिउँसो न्यू साउथवेल्सको ग्रिफीथमा प्रहरी चेक जाँचका क्रममा एकजना विदेशीलाई नक्कली लाईसेन्ससहित नियन्त्रणमा लिएको थियो।

प्रहरीले भिक्टोरियाको मिल्दुरामा बस्ने ४२ वर्षिय एक मलेशियन सवारी चालकले देखाएको मलेशियाको लाईसेन्स नक्कली रहेको फेला पारेको थियो। प्रहरीले उनले देखाएको लाईसेन्सको जाँच गर्दा ती व्यक्तिले मलेसियामा मोटरसाईकलको मात्र लाईसेन्स लिएको र त्यो पनि सन् २००५ मा नै म्याद सकिएको फेला पारेको जनाएको छ। 

प्रहरीले गरेको थप जाँचमा उनले अष्ट्रेलियाको कुनै राज्यबाट पनि लाईसेन्स नलिएको र पछिल्लो ६ वर्ष देखि ब्रिजिङ भिसामा बसिरहेको खुलेको थियो। प्रहरीले उनलाई ७ डिसेम्बर २०२२ ग्रिफिथको स्थानीय अदालतमा उपस्थित हुने आदेश दिएको थियो।

जहाँ प्रहरीले लगाएको नक्कली कागजात बनाएर प्रभाव जमाएको, बिना लाईसेन्स सवारी चलाएको आरोप अपराध प्रमाणित भएको थियो। 

प्रहरीले यसको जानकारी अष्ट्रेलियाको अध्यागमन विभागमा उनीहरूको भिसा सम्बन्धि निर्णय पुनरावलोकनका लागि समेत लेखेर पठाएको छ।

उनीसँगै सेप्टेम्बर १८ मा थप दुई मलेसियन नागरिकलाई उस्तै प्रकृतिको नक्कली लाईसेन्सले गाडी चलाएको अभियोग अदालतबाट साबित भएको छ।

ग्रिफिथ राजमार्ग प्रहरी ग्रिफिथ हाईवे पेट्रोलले मध्य पश्चिमी राजमार्ग नजिकै रयांकिङ्स स्प्रिङ्समा सवारी जाँच गर्ने क्रममा ती २ जना पक्राउ परेका थिए।

यसरी नक्कली सवारी चालक अनुमतिपत्र बाहक दुर्घटनामा परे या दुर्घटना गराए भने कारबाहीस्वरूप विद्यार्थी भिसासमेत रद्द हुने र उनीहरूलाई डिपोर्टसमेत गरिने हुन्छ। त्यसैले विद्यार्थीले यस्ता विषयमा गम्भीर हुनुपर्ने एनआरएन अस्ट्रेलियाका पूर्व महासचिव डा.ज्ञानेन्द्र रेग्मीले बताए।

‘गाडी चलाउन्जेल त ठिकै होला तर जुन दिन सानोतिनो दुर्घटना होला त्यसपछिको छानबिनका क्रममा उनीहरु नराम्रोसँग फस्न सक्छन्, यसैले पनि नक्कली लाइसेन्स प्रयोग गर्नु हुँदैन,’ उनले भने।

विद्यार्थीको आफ्नै जीवनसँग पनि दुर्घटना जोडिने भएकाले नक्कली लाइसेन्सको प्रयोग नगर्न र अभिभावकलाई समेत सचेत रहन उनले सुझाव दिए। 

‘उच्च शिक्षा अध्ययन गर्न आएका नेपाली विध्यार्थीले यस्तो विषयमा सानो लापरबाहीले ज्यानै गुमाउने पीडादायक घटना रोक्न सम्भावित अभिभावक पनि जिम्मेबार देखिनु जरूरी छ’, रेग्मीले भने, ‘छोरा छोरीले भन्दैमा कुरै नबुझी लाइसेन्स पठाइदिने र यहाँको यथास्थिति र नीति नियम नबुझ्दा त्यसको परिणाम कति भयाबह हुन्छ भन्ने कुरा जान्न जरूरी देखिएको छ।’

सवारी साधनमा नक्कली प्रयोग हुनु भनेको कयौं नागरिकको सुरक्षामाथिको प्रश्न हो, यो ठूलो अपराध हो, यसले गम्भीर घटना निम्त्याउन सक्छ, त्यसैले हदैसम्मको कारबाही भोग्नुपर्ने हुन्छ।

पछिल्लो साता मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको चालक अनुमतिपत्र समेत शंकाका घेरामा रहेको र त्यसको समेत छानबिन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update