Canmandu
छोरा-बुहारी भेट्न अष्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु

नेपालबाट छोराबुहारी भेट्न सिड्नी आएकी एक ७३ वर्षिया वृद्धाको हृदयघातबाट निधन भएको छ।

सिड्नी आएकै दिन डिसेम्बर ३१ तारिखमा हृदयघात भएर अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मंगलबार निधन भएको थियो।

टिआर भिसामा अष्ट्रेलिया बस्दै आएका उनका छोरा सन्जिब कार्की र बुहारीसँग अस्पताल खर्च र शव नेपाल पठाउन रकम अभाव भएपछि गो फन्डमी मार्फत रकम संकलन अभियान सुरू गरिएको छ।

पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन छोराले फुटबल खेल्ने बेनी फुटबल क्लबले  अभियान सुरु गरेको हो।

स्वास्थ्य बिमा नभएका कारण केही दिनकै उपचारमा १५ हजार डलर खर्च भएको थियो। नेपाल शब पठाउन थप १५ हजार लाग्ने भएकाले ३० हजार डलर संकलनका लागि गो फण्ड मी अभियान चलाईएको फुटबल क्लबले जनाएको छ।

२४ घण्टामा गो फण्ड मि र बैंक खातामा गरि ३० हजार डलर भन्दा बढी रकम संकलन भएको बेनी फुटबल क्लबका विकास गौचनले जानकारी दिए।

गौचनका अनुसार क्लबले गो फण्ड मिबाट १८ हजार २ सय ७६ र बाँकी रकम क्लबको बैंक खातामा संकलन भएको हो।

गौचनका अनुसार लक्ष्य अनुसार ३० हजार डलर पुगिसकेकाले गोफण्डमी एकाउन्टमा थप सहयोग गर्न नमिल्ने बनाइएको छ भने अन्य क्लब र सहयोगीलाई समेत अब सहयोग नगर्न आग्रह गरिएको  छ।

आमाको बिमा नभएकाले अस्पतालको खर्च जोह गर्न छोरा बुहारीलाई समस्या परेको थियो। संकलित रकममध्ये अस्पतालमा करिब १२ हजार डलर र बाँकी पैसाले शव नेपाल लैजाने गौचनले जानकारी दिए।

आगामी शुक्रबारसम्म अस्पतालको कागजपत्र मिलाएर शव नेपाल पठाइने गौचनले बताए।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update